Monday, January 5, 2026

प्रदेश खेलकुद विकास परिषद्को जानकारीपत्रप्रति राष्ट्रिय तेक्वान्दो संघ नेपालको आपत्ति

काठमाडौँ ,

 राष्ट्रिय तेक्वान्दो संघ नेपालले बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा प्रकाशित जानकारीपत्रप्रति घोर भर्त्सना तथा गम्भीर आपत्ति जनाएको छ। संघले न्यायालयको आदेशलाई विपरीत रूपमा व्याख्या गरी नेपाल तेक्वान्दो संघले आफ्ना स्वार्थअनुकूल ढंगबाट तयार पारेको गलत सूचना समावेश गरिएको पत्रकै आधारमा बागमती प्रदेश खेलकुद विकास परिषद द्वारा  प्रकाशित जानकारि पत्र  सार्वजनिक गरेको आरोप लगाएको छ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालका अनुसार मिति २०८२ साल पौष ९ गते (२०८२/०९/०९) च. नं. २०८२/०८३, पत्र संख्या ३०२ अनुसार प्रकाशित उक्त जानकारीपत्र तथ्यहीन, भ्रामक तथा कानुनी आधारविहीन रहेको छ। संघले सार्वजनिक रूपमा फैलाइएका यस्ता सूचनाले तेक्वान्दो खेल क्षेत्रमै भ्रम र समस्या सिर्जना गरेको जनाउँदै, जानकारीपत्रलाई अबिलम्ब सच्चाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

संघले एकपक्षीय, तथ्यविपरीत र मनोमानी ढंगले गरिएका यस्ता क्रियाकलापहरू कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, आगामी दिनहरूमा बागमती प्रदेश खेलकुद विकास परिषद् तथा त्यस मातहतका जिल्ला खेलकुद विकास समिति र पालिका स्तरका खेलकुद विकास समितिहरूले आयोजना गर्ने तेक्वान्दोसम्बन्धी सम्पूर्ण गतिविधिहरू राष्ट्रिय तेक्वान्दो संघ नेपालको बागमती प्रदेश संघसँग समन्वय गरेर सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

यसै सन्दर्भमा बागमती प्रदेश संघ तथा जिल्ला संघका प्रतिनिधिहरूले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री माननीय उर्मिला नेपालज्यूसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण पत्र पेश गरिएको जानकारी पनि संघले दिएको छ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालले माननीय मन्त्रीज्यूले यस विषयलाई गम्भीरतापूर्वक अध्ययन, छलफल तथा कानुनी आधारमा आवश्यक निर्णय लिने विश्वास व्यक्त गरेको छ। संघले तेक्वान्दो खेल क्षेत्रमा उत्पन्न भएको भ्रम तथा समस्याको न्यायोचित समाधान हुने अपेक्षा समेत गरेको छ।

समाचारको अन्त्यमा संघले नेपाली तेक्वान्दो खेलको समग्र विकास, खेलाडी र प्रशिक्षकको हित संरक्षण तथा खेलकुदको मर्यादा जोगाउने विषयमा आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।



Monday, December 15, 2025

राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न

 राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न

राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित रंगशालामा २०८२ मंसिर २६ देखि २८ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा तेक्वान्दो प्रशिक्षकहरूको क्षमता अभिवृद्धि, आधुनिक प्रशिक्षण विधि, खेल विज्ञान, तथा खेलाडीको स्वास्थ्य र सुरक्षासम्बन्धी विषयमा गहन अन्तरक्रिया तथा व्यवहारिक अभ्यास गरिएको थियो।

तालिममा त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका प्राध्यापक डा. रामकृष्ण महर्जन, सुशील नर्सिङ राना, डा. राजेन्द्र खत्री, राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष महेश्वर फुयाँल, महासचिव राकेश कुमार राई, उपमहासचिव एवं अधिवक्ता ईश्वर सापकोटा, केन्लेद्रीय सदस्य तथा तेक्वान्दोका संस्थापक सिनियर प्रशिक्षक शेर बहादुर थापा मगर लगायत ले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

राष्ट्रिय स्तरका प्रशिक्षकहरूलाई एकै ठाउँमा ल्याई ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको हो। यसले तेक्वान्दो खेलको गुणस्तर र प्रशिक्षकहरूको व्यावसायिक क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

यो संघ को आयोजनामा प्रथम पटक बागमती प्रदेश मा भयको देशका राष्ट्रिय प्राशिक्षक तालिम मा विभिन्न जिल्लाबाट उल्लेखनीय प्रशिक्षकहरूको सहभागिताले तालिमलाई अझ प्रभावकारी बनाएको थियो| संघ को बार्षिक कार्यक्रम अनुसार आयोजना भएको यो तालिम बाकी ६ प्रदेशहरुमा छुट्टा- छुट्टै समयतालिका अनुसार आयोजना गर्ने कार्यकर्म रहेकोछ।